हाम्रो परिचय
हाम्रो बारेमा
नेपालमा बाँस
दिगो कृषि र हरियो अर्थतन्त्रको साझा यात्रा
‘नेपालमा बाँस’ नेपालमा बाँसको खेती, अनुसन्धान, प्रविधि, उद्यम, उद्योग र नीतिगत सम्भावनालाई एउटै साझा ज्ञान–मञ्चमा जोड्ने डिजिटल पहल हो । बाँसलाई केवल घरायसी उपयोग वा परम्परागत हस्तकलाको सामग्रीका रूपमा मात्र नभई कृषि, रोजगारी, उद्योग, वातावरण संरक्षण र हरित अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने उद्देश्यले यो प्लेटफर्म अघि बढाइएको हो ।
नेपालका गाउँघर, खेतका डिल, कान्ला, खोलाखोल्सी तथा वनपाखामा पाइने बाँसमा ठूलो आर्थिक, सामाजिक र वातावरणीय सम्भावना रहेको छ । तर यसको वैज्ञानिक खेती, गुणस्तरीय बिरुवा उत्पादन, व्यावसायिक व्यवस्थापन, प्रशोधन, मूल्य अभिवृद्धि, बजार विस्तार र औद्योगिक उपयोगका विषयमा अझै पर्याप्त ज्ञान, सूचना र समन्वयको आवश्यकता छ । ‘नेपालमा बाँस’ यही आवश्यकता पूरा गर्ने साझा डिजिटल ज्ञान–यात्राको रूपमा विकसित हुँदैछ ।
यो प्लेटफर्ममार्फत बाँसका प्रजाति, खेती प्रविधि, बिरुवा उत्पादन, रोपण तथा व्यवस्थापन, रोग–कीरा व्यवस्थापन, उत्पादन र बजार, मूल्य अभिवृद्धि, बाँसमा आधारित उद्योग तथा उद्यम, अनुसन्धान तथा प्राविधिक अध्ययन, सफल अभ्यास, नीति तथा सम्भावित लगानीका अवसरहरू सम्बन्धी तथ्यपरक र व्यवहारिक सामग्री प्रस्तुत गरिनेछ ।
साथै, नेपाल तथा विश्वमा बाँसको क्षेत्रमा भइरहेका नयाँ प्रविधि, अनुसन्धान, नवप्रवर्तन र औद्योगिक अभ्यासलाई नेपाली सन्दर्भसँग जोड्दै किसान, विद्यार्थी, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी, लगानीकर्ता, नीति निर्माता तथा बाँसमा रुचि राख्ने सबैका लागि उपयोगी ज्ञानको स्रोत निर्माण गर्ने हाम्रो प्रयास हुनेछ ।
हाम्रो उद्देश्य
‘नेपालमा बाँस’ को मूल उद्देश्य बाँससम्बन्धी ज्ञान, अनुभव, अनुसन्धान र अवसरलाई एकै ठाउँमा ल्याई किसानदेखि उद्योगसम्मको मूल्य शृंखला विकासमा योगदान गर्नु हो ।
हामी बाँसको व्यवस्थित र व्यावसायिक विकासमार्फत—
- किसानको आय र उत्पादनशीलता बढाउन,
- ग्रामीण क्षेत्रमा रोजगारी तथा उद्यम सिर्जना गर्न,
- बाँसमा आधारित उद्योग र मूल्य अभिवृद्धिलाई प्रोत्साहन गर्न,
- अनुसन्धान, प्रविधि र व्यवहारिक ज्ञानलाई किसानसम्म पुर्याउन,
- वातावरण संरक्षण तथा जलवायु अनुकूलनमा योगदान गर्न,
- नेपालमा बाँसमा आधारित दिगो तथा हरित अर्थतन्त्रको विकासमा सहयोग गर्न चाहन्छौँ ।
हाम्रो दृष्टिकोण
हामी “बाँस रोप्ने अभियान” लाई “बाँसबाट मूल्य सिर्जना गर्ने अभियान” मा रूपान्तरण गर्न आवश्यक छ भन्ने मान्यता राख्छौँ । त्यसका लागि उत्पादनसँगै अनुसन्धान, प्रविधि, प्रशोधन, बजार, उद्योग, लगानी र नीतिगत सहकार्यलाई समान महत्व दिनुपर्छ ।
‘नेपालमा बाँस’ ज्ञान र अवसरबीचको पुल बन्न चाहन्छ—जहाँ किसानले खेतीसम्बन्धी जानकारी पाऊन्, युवाले उद्यमको सम्भावना देखून्, अनुसन्धानकर्ताले ज्ञान आदानप्रदानको स्थान पाऊन्, उद्योगले कच्चा पदार्थ र प्रविधिसँग जोडिन सकून् तथा लगानीकर्ताले सम्भावनाका क्षेत्र पहिचान गर्न सकून् ।
सञ्चालन
‘नेपालमा बाँस’नेपाल एग्रो ब्याम्बो फार्मिङ एण्ड रिसर्च सेन्टर, चितवनद्वारा सञ्चालित पहल हो । यो केवल एउटा वेबसाइट मात्र नभई नेपालमा बाँसको ज्ञान, अनुसन्धान, खेती, उद्यम र उद्योगलाई जोड्ने साझा डिजिटल मञ्च बनाउने हाम्रो दीर्घकालीन प्रयास हो ।
जहाँ बाँस, त्यहाँ जीवन ।
जहाँ जीवन, त्यहाँ बाँस ।